निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू प्रवाह गरिदिन उद्योगी व्यवसायीहरूलाई आयोगको आग्रह

1 year ago

निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू प्रवाह गरिदिन उद्योगी व्यवसायीहरूलाई आयोगको आग्रह

 

निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी व्यवसायीहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ ।


आयोगको कान्तिपथस्थित कार्यालयमा ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सन्दर्भमा ‘निजी क्षेत्रसँग अन्तरक्रिया’ कार्यक्रम आयोजना गरेर आयोगले यस्तो आग्रह गरेको हो । निजी क्षेत्रका विभिन्न नेतृत्वदायी संगठन तथा व्यक्तिहरू सहभागी कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देशहरू प्रवाह गरिदिन आग्रह गरेका थिए । उनले आयोगको समाजिक सञ्जालमा आवद्ध भइ आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू आफ्नो सांगठानिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिदिएर सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

व्यवसायीहरूको सहयोग मुलुक र लोकतन्त्रका लागि महत्वपूर्ण हुने विश्लेषण गर्दै उनले आ–आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउनेगरी सहजीकरण गरिदिनसमेत आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्र ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीहरुलाई पनि सम्झिएकोमा खुसी प्रकट गर्दै आफ्नो संयन्त्रमार्फत आयोगको आग्रह कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।