राजनीतिक स्थायित्वका आगामी निर्वाचन निकै महत्वपूर्ण छः पम्फा भुसाल

1 year ago

राजनीतिक स्थायित्वका आगामी निर्वाचन निकै महत्वपूर्ण छः पम्फा भुसाल

काठमाडौंः लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले राजनीतिक स्थायित्वका साथै संविधानको रक्षाका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताएका छन् ।

शनिबार ललितपुरको सातदोबाटो युथ क्लबको ९औं वार्षिक साधारणसभामा बोल्दै भुसालले संसदलाई पुरा कार्यकाल सञ्चालन गर्न तथा मुलुकको व्यवस्था र संविधानका साथै राजनीतिक स्थायित्वका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताएका हुन् । पाँच वर्ष चल्ने सरकारले मुलुकको आर्थिक विकासको एजेण्डालाई अघि बढाउनुपर्ने उनको भनाई छ ।

उनले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिन पुनः उम्मेदवारी दिएको बताए । साथै उनले ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने प्रतिबद्वता समेत जनाएका छन् ।