सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

1 year ago

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

काठमाडौँः नाबालिग बलात्कार अभियोगमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कानुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् ।


काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको बताए । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ,कृष्ण सापकोटा,सविता भण्डारी र लभ मैनालीलगायतले लामिछानेको पक्षबाट बहस गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।

 

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा सजाय मागदाबी गरेको थियो । अनुसन्धानका क्रममा संकलित तथ्य र प्रमाणले लामिछानेबाट नाबालिग बलात्कृत भएको आरोपपत्रमा उल्लेख छ । उक्त आरोप प्रमाणित भएमा लामिछानेलाई १० देखि १२ वर्षसम्मको कैद सजाय हुनेछ ।

 

 आरोपित लामिछानेले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीँबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।