संघीयतालाई मजबुद बनाएर मात्रै संविधान कार्यान्वयन गर्न सकिन्छः प्रचण्ड

1 year ago

संघीयतालाई मजबुद बनाएर मात्रै संविधान कार्यान्वयन गर्न सकिन्छः प्रचण्ड

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयतालाई मजबुद बनाएर मात्रै संविधान कार्यान्वयन गर्न सकिने बताउनुभएको छ ।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले संघीयता कार्यान्वयनमा समस्या देखापर्न थालेको भन्दै यसलाई सवल र मजबुद बनाएर मात्रै संविधानको सफल कार्यान्वयन गर्न सकिने बताउनुभएको हो । उहाले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशन दिनुभयो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले सरकार आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा रहेकोमा जोड दिँदै विगतभन्दा नयाँ र गुणात्मक प्रकृतिको योजना निर्माण र बजेट व्यवस्थाका लागि आवश्यक तयारी गर्नसमेत निर्देशन दिनुभएको छ । अहिलेको विषम परिस्थितिमा खर्चमा मितव्ययिता गर्ने, स्रोत परिचालनमा विशेष मेहनत गर्ने र उत्पादन बढाउने कार्यमा ध्यान केन्द्रित गर्नुपर्ने उहाले बताउनुभयो । उहाले अर्थतन्त्रका संरचनागत समस्या समाधान गर्न अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले कार्ययोजना निर्माण गर्नसमेत निर्देश गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आयोजना व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आयोजनाको वर्गीकरण र मूल्याङ्कन सम्बन्धी कार्यविधि लागू गर्न सबै तहलाई अनुरोध गर्नुभयो ।