मछिन्द्र र एनआरटी विजयी

1 year ago

मछिन्द्र र एनआरटी विजयी

 

राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले दोस्रो जित निकालेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा क्लबलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्रले दोस्रो जित निकालेको हो । मछिन्द्रको जितमा विमल घर्ति मगर र आफिज ओलावालेले एक एक गोल गरे । संकटाका लागि मनिष डाँगीले एक गोल फर्काए । खेलको २० औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २२ औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ४६ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई २–१ को जित दिलाए । जितसँगै मछिन्द्रले ७ खेलमा ९ अंक जोडेको छ भने संकटको ९ अंक छ । यस्तै खेलको इन्जुरी टाइममा मछिन्द्र क्लबका छिरिङ गुरुङ घाइते भएका छन् । आफ्नै टीमका खेलाडीसंग ठक्कर खाएपछि उनी मैदानमा ढलेका थिए । मैदानमै प्राथमिक उपचारपछि उनलाई एम्बुलेन्समा अस्पताल लगिएको थियो ।

त्यस्तै आइतबार नै एन्फा मैदान सतादोवाटोमा भएको खेलमा न्युरोड टिम एनआरटीले हिमालयन शेर्पालाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको १४ औं मिनेटमा खमिर गिल्सनले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६७ औं मिनेटमा रोहन खड्कीले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८९ औं मिनेटमा जेनिस प्रजापतिले गोल गर्दै एनआरटीलाई २–१ को जित दिलाए । जितसँगै एनआरटीले ७ खेलमा ६ अंक जोडेको छ । हिमालयनले ७ खेलमा ७ अंक जोडेको छ ।