नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ

1 year ago

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ

 

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनु भएको हो ।

उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडेलले सपथ लिदा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो । सपथपछि नवनिर्वाचित राष्ट्रपति पौडेलले निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई विदाई गर्नुभएको थियो । भण्डारीको विदाई पनि सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भण्डारीलाई मयुर भएको आँखीझ्याल उपहार दिनुभएको थियो ।

राष्ट्रपति पौडेललाई शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीहरु लगायतले बधाई दिनुभएको थियो । नेपालमा विसं २०६२–६३ को जनआन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई कार्यकाल राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नमिल्ने संविधानमा उल्लेख छ ।