सरकारसंग सहमति भएपछि यातायात मजदुर सङ्गठनको बन्द लगाएतका आन्दोलन फिर्ता भएको छ । 

1 year ago

सरकारसंग सहमति भएपछि यातायात मजदुर सङ्गठनको बन्द लगाएतका आन्दोलन फिर्ता भएको छ । 

 

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो । मजदुर सङ्गठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । बिभिन्न माग राख्दै यातायात मजदुर सङ्गठनले मंगलबार उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो । वार्ताका क्रममा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात मजदुरले उठाएका मागहरु सम्बोधनका लागि कार्यदल बनाएको र कार्यदलले सात दिनभित्र आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो । उहाले नयाँ बसपार्कमा ल्होत्सेको अनियमितताबारे छानविन गर्ने र सोमबारको घटनामा यातायात मजदुरमाथि कुटपिट गर्नेहरुलाई कारबाही गर्ने तथा मोबाइल पसलबाट मोबाइल लुटपाटका सम्बन्धमा छानबिन गर्ने बताउनुभयो ।

 

त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राईले तत्कालका लागि सार्वजनिक वन्दको कार्यक्रम स्थगन गरिएको जानकारी दिनुभयो । उहाले आफ्ना बिभिन्न मागहरुलाई पुरा गर्न दवाव दिनका लागि यसअघि तय गरिएका शान्तिपूर्ण कार्यक्रम भने जारी रहने बताउनुभयो । राईले सरकारले आफुहरुसंग गरेको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । 

 

ट्राफिक जरिवाना घटाउनु पर्नेसहित विभिन्न १० बुँदे माग राख्दै आन्दोलनरत यातायात मजदुरले प्रदर्शन गर्दा मंगलबार नयाँ बसपार्क क्षेत्र तनावग्रस्त भएको थियो ।