सभामुख देवराज घिमिरेले चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको सूचना प्रतिनिधिसभालाई जानकारी गराउनुभएको छ ।

1 year ago

सभामुख देवराज घिमिरेले चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको सूचना प्रतिनिधिसभालाई जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतको संवैधानिक इजलासको उत्प्रेषणको आदेशले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको, निर्वाचित भएको र प्रमाणपत्र पाएको लगायतका काम बदर गरेको पत्र प्राप्त भएको जानकारी गराउनुभएको हो । सर्वोच्चको आदेशसँगै लामिछानेको पद रिक्त भएपछि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ । संसद बैठकबाट बाहिरिने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले गृहमन्त्रालयबारे पार्टीको केन्द्रिय समितिको बैठकपछि निष्कर्ष निकाल्ने जानकारी दिनुभयो । गृहमन्त्रीकै कारण सत्ता गठबन्धन टुट्नु हुदैन भन्ने पक्षम आफू रहेको उहाँले बताउनुभयो ।
त्यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले गृहमन्त्रालय संवेदशील मन्त्रालय भएकाले तत्काल प्रक्रिया पुर्याएर यसलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयो ।
एमाले सांसद रघुवीर महासेठले गृहमन्त्रालयबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई भएकाले प्रधानमन्त्रीले नै छलफल गरेर भागबण्डा गर्ने बताउनुभयो । त्यस्तै राष्ट्रपतिमा एमालेको स्वभाविक दाबी रहेको उहाँले बताउनुभयो ।

बैठकमा सत्तापक्षकै सांसदहरुको जुहारी चलेपछि कांग्रेस सांसद रमेश लेखकले प्रतिनिधिसभामा विपक्षी दलको काम सत्तापक्षको सांसदले गरिरहेको भन्दै कांग्रेसलाई सञ्चो भइरहेको प्रतिक्रिया दिनुभयो । उहाँले वर्तमान सरकारबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सक्ने अवस्था नदेखिएको बताउनुभयो ।


प्रतिनिधिसभाको अर्को बैठक माघ २२ गते आइतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।