नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगत मतदान सुरु

1 year ago

नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगत मतदान सुरु

 

नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगत बिहीबारदेखि काठमाडौंमा मतदान सुरु भएको छ ।

मतदान नेपाल प्रज्ञा प्रतिष्ठानमा तीन दिनसम्म हुनेछ । संघको अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुन लागेको हो । संघको बिभिन्न १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनमा डा अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह मैदानमा छन् भने डा शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह चुनावमा होमिएको छ । लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका डा अनिलबिक्रम कार्कीले चिकित्सा पेशमा लागेदेखि नै यस क्षेत्रको समस्या समाधानका लागि क्रियाशिल रहेकाले जित्ने आधार रहेको बताउनुभयो ।

त्यस्तै पेशागत समावेशी समूहका अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका डा सन्तोष पौडेलले युवा चिकित्सहरुको एजेण्डलाई प्राथमिकतामा राखिएको बताउनुभयो । आफुहरुको एजेण्डाहरुले सम्पूर्ण चिकित्सकहरुको ध्यानाआकृष्ट भएकाले निर्वाचनमा जित्ने उहाले बताउनुभयो ।

नेपाली चिकित्सकहरूको छाता संस्थाको रुपमा २००७ मा २० जना सदस्यबाट स्थापना भएको संघमा हाल १२ हजारभन्दा बढी सदस्य रहेका छन् ।