स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको सिआइबीको निष्कर्ष

1 year ago

स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको सिआइबीको निष्कर्ष

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले हालै नेपालमा सम्पन्न नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको जनाएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआईबीले लिगमा भएको अनियमिता र फिक्सिङमा एक खेलाडी सहित ४ जना नेपाली र ६ जना विदेशी व्यक्ति संलग्न रहेको जनाएको हो जसमध्ये ४ जनाले बिचौलियाको काम गर्ने खुलेको सीआईबीले जनाएको छ । स्पट फिक्सिङको अनुसन्धानका लागि क्रिकेटर मोहम्मद आदिल आलम र पूर्वक्रिकेटर महबुब आलमलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको सीआईबीका एसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

उहाका अनुसार महबुब आलमले कम्तीमा दुई नेपाली खेलाडीहरुलाई आर्थिक प्रलोभन देखाई फिक्सिङ गर्ने प्रयास गरेका थिए भने मोहम्मद आदिल आलम फिक्सरको प्रलोभनमा परी एक वाइड र एक नोबल बल फालेको देखिएको एसपी थापाले जानकारी दिनुभयो । विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरूसमेत स्फट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको उहाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सीआईबीका एसएसपी दिनेश आचार्यले फिक्सिङ प्रकरणको अनुसन्धानका लागि जिम्मेवारी पाएपछि अनुसन्धान गर्दा फिक्सिङको पुष्टि भएको बताउनुभयो । उहाले अहिले पक्राउ परेका दुई खेलाडी बाहेक अन्यको बारेमा थप अनुसन्धान भइरहेकाले पछि जानकारी गराउने बताउनुभयो । स्पट फिक्सिङको प्रमाण संकलन गरेको गरिएको क्यान र सेभेन थ्री लगाएत सवै अनुसन्धानको दायरामा आउने उहाले बताउनुभयो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ मा खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने उल्लेख छ भने दफा दफा ३३ सजायमा तीन वर्ष कैद र ५० हजार जरिवाना गरी सो कसूर गर्दा कुनै रकम लेनदेन गरेको भए सो रकम समेत जफत हुने उल्लेख रहेको सीआईबीले जनाएको छ ।