घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश

1 year ago

घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश

 

नेकपा एमाले परित्याग गरेका कम्युनिष्ट नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता भूसालले आफु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको स्वघोषणा गर्दै पार्टीको सदस्यता नविकरण गर्न निवेदन दिने बताउनुभएको हो । नेता भूसालले समाजवादको कार्यदिशालाई अघि बढाउनका लागि समाजवादी जस्तो अरु कुनै पार्टी आफुले नदेखेको दावी गर्नुभयो ।

त्यस्तै उहाले कम्युनिस्ट आन्दोलनका लागि एकीकृत समाजवादी असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको जिकिर गर्नुभयो । राजनीति र अदालतको गठजोरले कम्युनिष्ट पार्टी बिभाजन गरेको र त्यसपछि बनेका अन्य दलहरुले समाजवादको कार्यदिशा अघि बढाउन नसक्ने उहाले आरोप लगाउनुभयो ।

भूसालले आजको समाजवादलाई माओवादको टोपीले समेट्न नसक्ने र एमालेको सिद्धान्त पनि अहिले जबजको व्याज मात्रै खाने माध्यम बनाएको धारणा राख्नुभयो । उहाले नेकपाको खास उतराधिकारी नेकपा एकीकृत समाजवादी नै भएको र नर्वौ महाधिवेशनका बाँकी कामहरु पुरा गर्नुपर्ने आफ्नो मागलाई पुरा गर्ने आश्वासन पनि नेतृत्वबाट पाएको बताउनुभयो ।

नेता भूसालले नेकपा गठन हुँदाको कार्यदिशा कार्यान्वयन हुन नसक्दा भ्रष्टाचार नियन्त्रणका साथै कृषि क्रान्ति सम्भव हुन नसकेको तर्क गर्नुभयो । उहाले केपी ओलीकै कारण मुलुकले पटक पटक ठूलो अवसर गुमाएको र ओलीले नै एमालेलाई २०४७ सालमा फर्काएको आरोप लगाउनुभयो ।