गृहमन्त्री लामिछाने द्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

1 year ago

गृहमन्त्री लामिछाने द्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौमा भइरहेका सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

बिहीबार काठमाडौं प्रशासन कार्यालय पुगेर लामिछानेले बिभिन्न सेवामा सुरु गरिएको टाइम कार्डको कार्यान्वयनको अवस्था र अन्य सेवा प्रवाहका बारेमा जानकारी लिनुभएको हो । सो क्रममा उपप्रधान एवं गृहमन्त्री लामिछानेले सेवा प्रवाहरुलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।

उहाले प्रशासन कार्यालयले सहज रुपमा सेवा दिनका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने समेत गृहमन्त्रीबाट प्रतिवद्धता आएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी उपाध्यायले प्रशासनबाट हुने सेवालाई समयवद्ध गर्दैै नागरिकलाई सहज बनाउन १० वटा सेवामा टाइम कार्ड लागू गरिएको जानकारी दिनुभयो ।

प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र र नाबालक परिचयपत्र १ घण्टाभित्र, संस्था नवीकरण ३० मिनेटभित्र, राहदानी वितरण १५ मिनेटभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेटभित्र , प्रशासनबाट हुने सिफारिसपत्र १ घण्टाभित्र, मुद्दाको पेशी र तारेख ३० मिनेटभित्र उपलव्ध हुने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।