राष्ट्रिय स्वतन्त्र पार्टिमा उम्मेदवारहरुको असन्तुष्टि

1 year ago

राष्ट्रिय स्वतन्त्र पार्टिमा उम्मेदवारहरुको असन्तुष्टि

 

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि जनाएका छन् ।

समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाएका हुन । राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका अध्यक्ष लालविक्रम थापाले प्राइमरी इलेक्सनबाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्दसूची तय गरिएकाले त्यसै अनुसार सांसदहरु चयन हुनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय समानुपातिक उम्मेदवारले प्राइमरी इलेक्सनमा पाएको मत अनुसार निर्धारण गरिएको क्रम मिचिने हो कि भन्नेमा शंका लागेकाले पार्टीलाई खबरदारी गरिएको उनले बताए । उनले डिजिटल डेमोक्रेसीको कुरा गर्ने पार्टी डिजिटलकै अवधारणा अनुसार चलोस् भन्नका लागि आफूहरूले दबाब दिएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी इलेक्सनमा पाएको मतको आधारमा समानुपातिकको बन्दसूची तय गरेको थियो । रास्वपाले प्रत्यक्षतर्फ ७ सीट जितेको छ । त्यस्तै समानुपातिकमा १३ सीट पाएको छ । निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएकाहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनिसकेको छ ।