प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

1 year ago

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

 

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको कामलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डको नीजि निवास खुमलटारमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रम कस्तो बनाउने र सरकारलाई प्रभावकारी कसरी बनाउने बिषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

त्यस्तै वर्तमान सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले गरेको निर्णयलाई कार्यान्वयनको तहसम्म पुराउने बिषयमा पनि छलफल भएको उनले बताए । सरकारको साझा कार्यक्रमका साथै पदको भागबण्डा लगाएतका बिषयमा छलफल गर्न बिहीबार सत्ता साझेदार दलहरुको बैठक बस्ने र आवश्यक निष्कर्ष निस्कने मल्लले जानकारी दिएका छन् ।

त्यसअघि बुधबार नै प्रधानमन्त्री र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको र छलफलका क्रममा सरकारलाई समर्थन र सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले आग्रह गरेको मल्लले बताए ।

जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय गर्ने बताउनुभएको प्रधानमन्त्रीका स्वकीय सचिव मल्लले जानकारी दिए ।