आन्तरिक राजस्व कार्यालयका कर्मचारीको परिचय दिदै रकम असुल गर्ने ८ जना प्रहरी नियन्त्रणमा

1 year ago

आन्तरिक राजस्व कार्यालयका कर्मचारीको परिचय दिदै रकम असुल गर्ने ८ जना प्रहरी नियन्त्रणमा

आन्तरिक राजस्व कार्यालयका कर्मचारीको परिचय दिदै रकम असुल गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । 

 

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै बिभागको ड्रेस कोड, नक्कली परिचय पत्र लगाएर काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट र पसलबाट रकम असुल गरेको आरोपमा ८ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।  होटल, रेष्टुरेन्ट र पसलले कर नतिरेको भन्दै रकम असुलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथर फिदीमकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेकाहरुबाट राजस्व कार्यालयका स्ट्याम्प, लेटरप्याड लगाएत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले जानकारी दिए । स्थानीयको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गरिएको उनले बताए । बोहराले बिगत ४ दिन देखि बसपार्क इलाकामा बिभिन्न होटल लज,पसलहरु तथा फुटपाथ पसलहरुबाट समेत बिभिन्न परिमाणमा रकम असुल गरेको भन्ने बुझिन आएको र पीडितहरुबाट प्राप्त रसिद र मोबाइल–पेबाट समेत गरी ५ लाख भन्दा बढि संकलन गरेको खुल्न आएको पनि जानकारी दिएका छन् । 

 


त्यस्तै प्रहरीले गोकर्णेश्वर न.पा. वडा नं. ९ भगवतीथान स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको ३४ लाख ९७ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ । जितेन्द्र कुमार चौधरीले चलाएको बा.९८ प २२०९ नं. को स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटरको डिक्की तथा निज जितेन्द्र कुमार चौधरीले साथमा बोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा श्रोत नखुलेको उक्त रकम बरामद गरिएको (एसएसपी) बोहराले जानकारी दिए । अनुसन्धानका विविध बिधि र प्रविधिसमेतको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त नगद विश्व कुमार गुरुङको रहेको खुल्न आएकोले उनलाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।