अबको प्राथमिकता स्थानीय सरकारको सबलीकरण र नागरिकमा विकासको अनुभूति गराउने हुनुपर्छः प्रधानमन्त्री देउवा

1 year ago

अबको प्राथमिकता स्थानीय सरकारको सबलीकरण र नागरिकमा विकासको अनुभूति गराउने हुनुपर्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अबको प्राथमिकता स्थानीय सरकारको सबलीकरण र नागरिकमा विकासको अनुभूति गराउने हुनुपर्ने बताएका छन् ।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अबको प्राथमिकता स्थानीय सरकारको सवलीकरण गर्दै जनतामा सुशासन र विकासको अनुभूति गराउनु रहेको बताएका हुन् । उनले संविधानको साझा अधिकारको रुपमा रहेको केही द्विविधाहरू, अस्पष्टताहरूलाई थप स्पष्ट पार्दै संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको समेत बताए । उनले वैशाखमा स्थानीय तहको निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको र नयाँ जनप्रतिनिधिहरुले कार्यभार सम्हाल्न थालेकाले मुलुकमा उत्तरदायी लोकतन्त्रको अभ्यासलाई थप सबलीकरण गरेको बताएका थिए । संघीय सरकारले तदारुकता देखाई संघ, प्रदेश र स्थानीय तहलाई क्रमशः कानुन बनाउन तथा संघीयतालाई सहजीकरण गर्नुपर्ने खाँचो रहेको बताउँदै प्रधानमन्त्री देउवाले पुराना कानुनहरूलाई संविधानअनुकूल बनाउन तथा निजी सेवा, शिक्षा, स्वास्थ्यलगायतका विषयहरूको कानुन तत्काल बनाउने प्रयासलाई प्राथमिकता दिनुपर्ने स्थिति रहेको बताए । प्रधानमन्त्री देउवाले मुलुकमा विद्यमान गरिबी, बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कूरीतिहरूको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सक्नेगरी स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सबै पक्ष लाग्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनवटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने दाबी गरे । नेपालले प्रत्येक तहलाई आत्मसमीक्षा गर्दै अघि बढन आग्रह गरेका छन् । अध्यक्ष नेपालले एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न नसक्ने भन्दै कसैलाई दोष नदिई कमिकमजोरी हटाएर अघि बढ्न सुझाव
दिदै मुलुकको सम्वृद्धिका लागि तीनवटै तह एक आपसमा समन्वयात्मक ढङ्गले अडाडि बढ्नुपर्नेमा जोड दिए ।

आइतबारदेखि सुरु भएको गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो महाधिवेशनमा देशभरका ४६० गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सहभागितामा रहेको छ । मंसिर २७ गते सम्म चल्ने महाधिवेनले आगामी पाँच वर्षको लागि महासंघको नयाँ नेतृत्वको चयन गर्नुकासाथै काठमाडौं घोषणापत्र जारी गर्ने महासंघले जनाएको छ ।