बडा दशैंको दोस्रो दिन शुक्रबार विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना

2 years ago

बडा दशैंको दोस्रो दिन शुक्रबार विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना

बडा दशैंको दोस्रो दिन शुक्रबार विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिएको छ ।
नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार शुक्रबार ब्रह्मचारिणीको पूजा गरिएको हो । यो दिन मातालाई शख्खर र पंचामृतको भोग लगाउनाले दीर्घायूको आशीर्वाद प्राप्त हुने जनविश्वाश छ । ब्रह्मको अर्थ तपस्या र चारिणीको अर्थ आचरण वाली भन्ने हुन्छ ।

यस प्रकार ब्रह्मचारिणीको अर्थ तपस्याको आचरण गर्ने भन्ने बुझिन्छ । ब्रम्हचारिणीको दाहिने हातमा जप को माला एवं बायाँ हातमा कमण्डल रहन्छ । नित्य पूजा प्रारम्भसँगै स्वाधिष्ठान चक्रमा ध्यान गरेर माता ब्रह्मचारिणीको साधना गर्ने गरिन्छ ।

पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा पूजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

हिन्दु धर्मालवम्वीहरुले विधिपूर्वक घर घरमा घटस्थापना गरेसँगै नवरात्र शुरु हुने गर्दछ । घटस्थापनमा राखेर उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गा भवानीले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।

नवरात्रभर काठमाडौ उपत्यकाको नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गर्न दर्शनार्थीको भीड लाग्ने गर्द छ ।