४७३ जना कोरोना संक्रमित,मृत्यु हुनेको संख्या ३१ पुग्यो

2 years ago

४७३ जना कोरोना संक्रमित,मृत्यु हुनेको संख्या ३१ पुग्यो

नेपालमा बिहिबार थप ४७३ जना कोरोना संक्रमित फेला परेका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । थपिएका ४७३ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

बिहीबार थप ६६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ५३२० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४८ दिने शिशुको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो ।

श्वास–प्रश्वासमा समस्या आइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका शिशुको बुधबार मृत्यु भएको थियो । ती शिशुमा जन्मजात नै श्वासनलीमा समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

अस्पताल भर्ना भएपछि शल्यक्रिया गर्नुअघि ‘पीसीआर’ परीक्षण गर्दा शिशुमा कोरोना ‘पोजिटिभ’ देखिएको थियो । हाल देशभर ३८ हजार १०९ जना ‘क्वारेन्टिन’मा रहेका छन् । १० हजार १३७ जना ‘आइसोलेसन’मा रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म दुई लाख ३३ हजार ७ सय ६४ पीसीआर परीक्षण भएको छ ।