२९३ जनामा कोरोना भाइरसको संक्रमण, ३४ जनाको मृत्यु

2 years ago

२९३ जनामा कोरोना भाइरसको संक्रमण, ३४ जनाको मृत्यु

नेपालमा आइतबार थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । थपिएका २९३ सहित नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

आइतबार थप १३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् यो सहित डिस्चार्ज हुनेको संख्या ६५४७ पुगेको छ । कुल संक्रमितमध्ये ३४ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमले हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको बताउनुभयो ।

यसैबीच मन्त्रालयले ढलको पानीमा कोरोना भाइरसको जीवाणु भेटिँदैमा समुदायमा संक्रमण भएको भन्न नमिल्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता गौतमले ढलमा भाइरस देखिएकै भरमा समुदायमा संक्रमण भएर जटिल अवस्थामा पुग्यो भन्न नमिल्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा ढलको पानीमा कोरोना भाइरस भएको वा नभएको बारेमा अनुसन्धान गर्ने पनि प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो।हालै एक संस्थाले गरेको अध्ययनमा काठमाडौंको ढलमा कोरोना भाइरसको जीवाणु भेटिएको बताएको थियो ।