संसद विघटन विरुद्ध संघर्ष गर्ने ’प्रचण्ड’ र माधव नेपाल समूहको निर्णय

2 years ago

संसद विघटन विरुद्ध संघर्ष गर्ने ’प्रचण्ड’ र माधव नेपाल समूहको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधव नेपाल समूहले संसद विघटन विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । साथै बैठकले संघर्षका कार्यक्रम पनि तय गरेको छ । 

बिहीबार काठमाडौंको एक पार्टी प्यालेशमा बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले  संसद बिघटन गर्ने निर्णय संविधान विपरित भएको भन्दै संघर्षका कार्यक्रम तय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले संघर्षका कार्यक्रम सञ्चालन गर्नका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय कमिटी समेत बनाएको छ ।

पार्टी संगठन विरुद्ध रहेका गतिविधिका विरुद्ध पार्टी एकतालाई थप बलियो बनाउनका लागि तथा प्रतिनिधिसभाको विघटनको कथित निर्णय विरुद्ध पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरिएको श्रेष्ठले बताउनु भयो ।

बैठकले शुक्रबार निर्वाचन आयोगमा केन्द्रीय कमिटीका सदस्य तथा संसदहरु सहभागी कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै पुष १४ गते राजधानी सहित जिल्ला जिल्लामा विरोध प्रदर्शन गरिने, २५ गते सम्म सबै वडाहरुमा भेला आयोजना गर्ने निर्णय बैठकले गरेको श्रेष्ठले बताउनुभयो ।

यसैबीच बैठकले महासचिवको चयनको जिम्मा स्थायी कमिटीलाई दिएको छ । त्यस्तै केन्द्रीय कमिटी, स्थायी कमिटी र जिल्ला कमिटीमा रिक्त सदस्यको मनोनयनको जिम्मा पनि स्थायी कमिटीलाई दिएको छ ।

बैठकमा प्रचण्डले प्रतिनिधिसभा विघटन, दलमा विभाजन ल्याउने जस्तो विगतका घटनालाई सम्झेर अहिलेको घटनाक्रमलाई तिनकै पुनरावृत्ति भनेर ठान्ने गल्ती गर्न नहुने बताउनु भएको थियो ।