संवैधानिक नियुक्तिहरुबारे प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी कांग्रेसका सभापति शेर बहादुर देउवाबीच छलफल

2 years ago

संवैधानिक नियुक्तिहरुबारे प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी कांग्रेसका सभापति शेर बहादुर देउवाबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्तिहरुबारे प्रतिपक्षी कांग्रेसका सभापति शेर बहादुर देउवासंग छलफल गर्नुभएको छ ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री ओलीको निमन्त्रणमा बालुवाटार गएको र संवैधानिक नियुक्तिहरुबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौड्यालले विज्ञप्तीमा उल्लेख गरेको छ । 

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सिन्धुपाल्चोक पहिरो, कोरोना महामारी र त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिबारे छलफल गर्नुभएको थियो।  प्रधानमन्त्रीसँगको भेटमा लिदीका स्थानीयले दस दिन अघिदेखि नै गुहार गर्दा पनि किन सुरक्षित स्थानमा नसारिएको भनेर देउवाले प्रश्न गर्नुभएको थियो ।

त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघे पनि सरकारले विगतका कमजोरीको समीक्षा गरेर कामको गति बढाउन नसकेको देउवाले आरोप लगाउनु भएको छ ।आइसोलेसन र भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्न किन ढिलाइ गरेको भन्दै सभापति देउवाले प्रधानमन्त्री ओलीसँग प्रश्न गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिउपर कुलपतिका रूपमा ध्यान पुयाउन पनि प्रधानमन्त्रीलाई देउवाले आग्रह गर्नुभएको छ ।