सरकारविरुद्ध नेपाली कांग्रेसले देशभर प्रदर्शन गरे

2 years ago

सरकारविरुद्ध नेपाली कांग्रेसले देशभर प्रदर्शन गरे

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

आफ्ना पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ ओटै जिल्लामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नारा लगाएका थिए ।

देशका विभिन्न स्थानमा गरिएको प्रदर्शनमा कांग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् । सुरुदेखि नै सरकारप्रति नरम नीति लिएको कांग्रेस वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको धरपकड पछि चिढिएको हो ।

कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रुपमा लिएको दावी गर्दै अब संसद र सडकबाट सशक्त ढंगले अगाडि बढ्ने कांग्रेसले जनाएको छ ।

सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको कांग्रेसको आरोप छ । सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दावी गरिएको छ ।