सिफारिस पेश गरेर घरेलु कामदारको रुपमा नेपालीहरुलाई बाहिर पठाउने कार्य भइरहेको: श्रम समिति

2 years ago

सिफारिस पेश गरेर घरेलु कामदारको रुपमा नेपालीहरुलाई बाहिर पठाउने कार्य भइरहेको: श्रम समिति

प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले म्यानपावर कम्पनी र सम्वधीत देशका दुतावास मिलेर अझै पनि घरेलु कामदारमा रुपमा नेपालीहरुलाई बाहिर पठाउने काम भइरहेको जनाएको छ ।

सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा समिति सभापति बिमल श्रीवास्तवले घरेलु कामदार पठाउन नमिल्ने भएपनि अन्य कम्पनीमा काम गर्ने सिफारिस पेश गरेर घरेलु कामदारमा रुपमा नेपालीहरुलाई बाहिर पठाउने कार्य भएको बताउनुभयो ।

नेपालबाट अन्य कामका लागि सिफारिस गरेर नेपाली पठाउने तर सम्बन्धीत देशमा पुगेपछि घरेलु कामदारका रुपमा काम लगाउने देखिएको उहाले बताउनुभयो ।

उहाले समितिले बिभिन्न देशको भ्रमण गर्दा घरेलु कामदारहरुको अवस्था दयनिय देखिएको भन्दै कामदार पठाउने बिषयमा परराष्ट्रले अध्ययन र छानविन गर्नुपर्ने बताउनुभयो । बिदेशमा रहेका नेपालीहरुले सवै सुविधा पाउनुपर्ने गरि श्रमिक माग गर्ने देश र नेपालबीच उचित सम्झौता हुनुपर्ने उहाँको भनाई छ ।

बैठकमा मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले सवै स्थानीय तहले बैदेशिक रोजगारमा जाने र फर्कनेहरुको रेकर्ड राख्नुपर्ने बताउनुभयो । घरेलु महिला श्रमिकहरुको रेकर्ड भए जोखिम पर्दा उद्धार लगाएत अन्य काममा सहज हुने उहाको भनाई छ ।

त्यस्तै परराष्ट्र मन्त्रालयका सह–सचिव हरिषचन्द्र घिमिरेले चैतदेखि अनलाईन रजिष्ट्रेशन गरेर नेपालीहरु स्वदेश ल्याएको र सो क्रम अहिलेपनि जारी रहेको जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले घरेलु कामदारको रुपमा महिला कामदारलाई अन्यदेश पठाउने कार्यलाई बन्द गर्नुपर्ने धारणा राखे । कांग्रेसका सांसद प्रकाश रसाईलीले सरकारले नै घरेलु कामदारको रुपमा महिला कामदारलाई बाहिर पठाउन रोक्नुपर्ने तर्क गर्नुभयो ।

नेकपाका सांसद मुकुन्द न्यौपानेले महिलालाई मुलुकको उत्पादनमा लगाउनमा जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै अन्य सासंदहरुले पनि घरेलु कामदारको रुपमा खाडी मुलुकमा पठाउने कार्यलाई सरकारले प्रोत्साहन गर्न नहुने बताएका थिए ।