वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु ४४ दिनदेखि आन्दोलनमा

2 years ago

वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु ४४ दिनदेखि आन्दोलनमा

सरकारले तोकेको सेवा सुविधा नपाएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु ४४ दिनदेखि आन्दोलनमा छन् ।

आन्दोलित स्वास्थ्यकर्मीहरुले मंगलबार पनि वीर अस्पताल परिसरमा धर्ना दिदै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) का पदाधिकारीहरुको कार्यकक्षमा ताला लगाएका छन् ।उनीहरुले न्याम्सका पदाधिकारीहरुलाई  अस्पताल प्रवेश गर्न समेत दिएका छैनन् ।

कोभिड–१९ का बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले तोकेका सेवा सुविधा समेत नपाएकाले आफुहरु आन्दोलन गर्न बाध्य भएको वीर अस्पताल कर्मचारी आन्दोलन संयुक्त संघर्ष समितिका प्रवक्ता धुर्वराज आचार्यले बताउनु भयो ।

उहाँले विभिन्न मागहरु राख्दै ४४ दिनअघि देखि आन्दोलन गरेको भएपनि आफुहरुको मागलार्इं न्याम्सका पदाधिकारीहरुले वेवास्ता गरेको समेत बताउनु भयो । अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण वीर अस्पतालको सेवा प्रभावित भएको उहाँले बताउनु भयो ।

४ सय शय्याको वीर अस्पतालमा अहिले ४० शय्यामा मात्र बिरामी रहेको र ३५० शय्या खाली अवस्थामा रहेको समेत बताउनु भयो । उहाँले वीर अस्पतालका सबै सेवा सुचारु गर्नुपर्ने बताउनु भयो ।

वीर अस्पतालमा सरकारी र न्याम्सका गरी दुई थरिका कर्मचारी रहेको जानकारी दिदै उहाँले सरकारी कर्मचारीले मात्र सेवा सुविधा पाएको तर न्याम्स अन्तर्गतका कर्मचारीले सेवा सुविधा नपाएकाले सरकारले दुवै तर्फका कर्मचारीलाई सेवासुविधा दिनुपर्ने  बताउनु भयो ।

सरकारले चाहेमा आफ्ना मागहरु पुरा गर्न गाह्रो नभएको भन्दै उहाँले आगामी १९ गतेभित्र आफ्ना मागहरु पुरा नभए अस्पतालको सबै सेवा ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।