राष्ट्रपतीय बहस अन्योलमा

2 years ago

राष्ट्रपतीय बहस अन्योलमा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भर्चुअल बहसमा सहभागी नहुने अडान राखेपछि आगामी २ वटा राष्ट्रपतीय बहस समेत अन्योलमा परेको छ। राष्ट्रपतीय बहसको निर्धारित कार्यक्रम इन्टरनेटको माध्यमबाट गरिने बताइएपछि ट्रम्पले आफूलाई मान्य नहुने बताएका हुन् ।

आयोजकले १५ अक्टोबरमा हुने बहसमा संलग्न सबैको स्वास्थ्य र सुरक्षाको निम्ति दुवै प्रतिस्पर्धीलाई फरक–फरक स्थानबाट सहभागी गराइने बताएका छन् ।

आयोजकको निर्णयसँग रुष्ट रहेका राष्ट्रपति ट्रम्पले फक्स बिजनेश च्यानललाई दिएको फोन अन्तर्वार्तामा समय खेर फाल्न आफू त्यसमा सहभागी नहुने बताएका हुन् ।

उनले कम्प्युटरको पछाडि बसेर गरिने भर्चुअल बहस हास्यास्पद भएको बताएका छन् । डेमोक्र्याट नेता जो बाइडनले राष्ट्रपतिले हरेक सेकेन्ड धारणा फेर्ने गरेको आरोप लगाएका छन्।

उनको चुनावी अभियान समूहले ट्रम्पमाथि मतदाताको प्रश्नको सामना गर्न नचाहेको आरोप लगाएको छ। जवाफमा ट्रम्पका अभियानकर्ताहरूले आयोजकको निर्णयलाई बाइडनको प्रतिरक्षा गर्ने हतारो भएको टिप्पणी गरेका छन् ।

सो बहसको साटो ट्रम्पले चुनावी र्‍याली आयोजना गर्ने उनीहरूको भनाइ छ। ट्रम्पका चिकित्सकले कोभिड १९  संक्रमित पुष्टि भएको १० ‌औं दिनदेखि उनी काममा फर्किन योग्य रहेको बताइसकेका छन्।

तेस्रो बहस २२ अक्टोबरमा हुने कार्यक्रम रहेको छ । अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । ट्रम्पको समूहले त्यसको पाँच दिनअघि तेस्रो बहस हुनुपर्ने बताएको छ भने बाइडनको समूहले त्यो हुन नसक्ने प्रतिक्रिया दिएको छ।