रेम्डेसिभिर औषधिको अभाव हुन नदिने ः औषधी व्यवस्था विभाग

2 years ago

रेम्डेसिभिर औषधिको अभाव हुन नदिने ः औषधी व्यवस्था विभाग

औषधी व्यवस्था विभागले कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधिको अभाव हुन नदिने जनाएको मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीका बारेमा अनुगमन गर्न गठित उपसमिति बैठकमा बिभागका महानिर्देशक भरत भट्टराईले तीन हजार भाइल काठमाडौँ आइपुगेको र अरु भाइल पनि नेपालमा ल्याउने क्रम जारी रहेको बताउनुभयो ।

रेम्डेसिभिर कोभिड – १९ का गम्भीर बिरामीलाई प्रयोग हुने औषधि हो । त्यस्तै महानिर्देशक भट्टराईले तीन महिनालाई पुग्ने कोभिड र नन कोभिडका अन्य औषधी मौज्दात रहेको जानकारी दिनुभयो ।

औषधी अभाव हुन नदिन विभागले विभिन्न निकायसंग समन्वय गरेर प्रयाप्त औषधी भित्राउने तयारी गरिरहेको उहाँको भनाई छ । भट्टराईले औषधीमा कालाबजारी हुन नदिन आफुहरु सचेत रहेको पनि बताउनुभयो ।

बैठकमा उपसमिति संयोजक जीवनराम श्रेष्ठले कोरोनाका बिरामीलाई आवश्यक औषधी अभाव हुन नदिन विभागले आवश्यक समन्वय र तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कोरोना संक्रमितको उपचारको अवस्थाका बारेमा विभिन्न अस्पतालको अनुगमन गरिने जानकारी दिनुभयो ।