यातायात व्यवसायीमा ठूलो लगानी जोखिममा

2 years ago

यातायात व्यवसायीमा ठूलो लगानी जोखिममा

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण नेपालको यातायात क्षेत्रमा भएको ठूलो लगानी जोखिममा पर्ने देखिएको छ ।

कोरोना महामारी सुरु भएपछि नै त्यसको न्युनिकरणका लागि सरकारले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएपछि यातायात क्षेत्रमा भएको ठूलो लगानी जोखिममा पर्ने देखिएको हो । तीन महिनाको लकडाउन खुल्ला गरेपनि लामो दूरीका सवारीसाधान भने अझैपनि सञ्चालनमा आउन सकेको छैन ।

कोरोनका कारण मुलुकका अधिकांश क्षेत्रमा निषेधाज्ञा भएपछि सार्वजनिक यातायात ठप्प छन् । जसका कारण यस क्षेत्रमा लगानी भएको खर्बौ रुपैँयाँ जोखिममा परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

एकातिर छोटो तथा लामो दुरीका सवारी साधनहरु ग्यारेजमा थन्किएर बसेका छन् भने अर्कातिर यस क्षेत्रमा कार्यरत लाखौँ मजदुरहरु बेरोजगार बनेका छन् । प्रत्यक्ष रुपमा ६० लाख भन्दा बढी मजदुरहरु यस क्षेत्रमा कार्यरत छन् ।

झण्डै ३ महिना लकडाउन हुँदा अहिले मुलुकैभरी ३ लाखभन्दा बढी सार्वजनिक यातायातका साधनहरु थन्किएको सिटौलाले बताउनुभयो । उहाँले यातायात क्षेत्रमा सरकारको स्पस्ट नीति आउन नसक्दा यो क्षेत्र नै ध्वस्त हुने अवस्थामा आएको तर्क गर्नुभयो ।

त्यस्तै उहाँले सरकारले यातायातका क्षेत्र खुल्ला गरेपनि तत्काल सवारी सञ्चालन गर्ने अवस्थामा नरहेको बताउनुभयो । लामो समयसम्म यातायातका साधनहरु थन्किँदा खिया लाग्ने र कुहिन थालेको र जसका कारण यस क्षेत्रको खर्बाै लगानी डुब्ने खतरा रहेको उहाँले बताउनुभयो ।

दशैमा पनि अव सवारी सञ्चालन गर्न नसकिने अवस्थामा रहेको सिटौलाको भनाई छ ।

महासचिव सिटौलाले सरकारले यसअघि आफुहरुसंग गरेको सहमति पनि कार्यान्वयन नगरेको गुनासो गर्नुभयो । उहाँले सार्वजनिक सवारी सञ्चालनका लागि सरकारले अनुगमन र निरिक्षण समिति बनाउन माग गर्नुभयो ।