मध्यपुर ठिमिमा सम्पदा पदयात्रा अभियान सञ्चालन सुरु

2 years ago

मध्यपुर ठिमिमा सम्पदा पदयात्रा अभियान सञ्चालन सुरु

मध्यपुर ठिमिलाई काठमाडौ उपत्यकाको आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले मध्यपुर ठिमि नगरपालिकाले सम्पदा पदयात्रा २०२१ अभियान सञ्चालन गरेको छ ।प्राचीन बस्ती रहेको मध्यपुर ठिमि नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, जीवन्त कला देखाउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०२१ को जनवरी १ मा सम्पदा पदयात्रा गरिएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकामा नयाँ जनप्रतिनिधि आइसकेपछि पुनर्निर्माण, जिर्णोद्धार तथा निर्माण भएका सम्पदाहरुको पदयात्रा मार्फत हेर्ने र त्यसको आधारमा मध्यपुर ठिमि नगरपालिका पर्यटकीय गन्तव्यको लागि लायक भयो भन्ने पुष्टि गर्न पदयात्रा गरिएको उहाँको भनाई छ ।  त्यस्तै पदयात्राका क्रममा निर्माण भएका पाटीपौवा, पोखरी, मन्दिर, पार्क, ढुङ्गेधारा, सत्तल लगायत सबैको अवलोकन गर्ने र त्यसका आधारमा पर्यटकीय गन्तव्यको रुपमा विकास गरी घोषणा गर्न सम्पदा यात्रामा नगरपालिकाका जनप्रतिनिधि, नेपाल पर्यटन बोर्ड, होटेल एशोसिएसन नेपाल (हान), ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का प्रतिनिधिको सहभागिता रहेको प्रमुख श्रेष्ठले बताउनु भयो । 

धिमे बाजा र बाँसुरी बाजाका साथ सुरु गरिएको सम्पदा पदयात्रा मध्यपुर ठिमिको शंखधर चोकबाट सुरु भएको तीन घण्टा लामो पदयात्रा विभिन्न सम्पदाको अवलोकन गर्दै बोडेको द्योः स्क्वायरमा पुगेर समापन गरिएको उहाँको भनाई छ ।