भारत–चीनबीचको ५ बुँदे सहमति

2 years ago

भारत–चीनबीचको ५ बुँदे सहमति

लद्दाखस्थित भारत–चीनबीचको वास्तविक नियन्त्रण रेखा ९एलएसी० मा जारी तनाव कम गर्नका ५ बुँदे सहमति भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच रुसको राजधानी मस्कोमा भएको बैठकका क्रममाम सो सहमति बनेको हो ।

भारतका विदेशमन्त्री जयशंकरले एलएसीमा जारी तनाव बढाउन नचाहेको भन्दै चीनप्रतिको नीतिमा कुनै परिवर्तन नभएको बताएका थिए । उनले चीनको पनि भारत नीतिमा कुनै परिवर्तन नभएको विश्वास व्यक्त गरे ।

चिनियाँ विदेश मन्त्रालयले दुई छिमेकी देश भएका नाताले तनाव सिर्जना हुनु स्वभाविक भएको भन्दै चीन र भारतबीच रहेका असहमतिलाई सही ढंगले समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

मस्कोमा चलिरहेको शांघाई कोअपरेशन अर्गनाइजेशन ९एससीओ० देशका विदेशमन्त्रीको बैठकमा भाग लिनका लागि दुवै नेता मस्कोमा रहेका छन् ।

गत साता मात्रै भारतका रक्षामन्त्री राजनाथ सिंहले चिनियाँ रक्षामन्त्रीसँग भेटवार्ता गरेका थिए । सो बैठक पनि मस्कोमा एससीओको बैठकका क्रममा भएको थियो ।

दुई देशका रक्षामन्त्रीबीच पनि एलएसीमा जारी तनाव कम गर्ने विषयमा छलफल भएको थियो । सो छलफलमा छिट्टै विदेशमन्त्रीबीच भेट हुने बताइएको थियो । बिहीबार राति ८ बजे सुरु भएको बैठक करिब ३ घन्टा चलेको थियो ।

मस्कोमा दुई देशका विदेश र रक्षामन्त्रीहरुबीच भेटवार्ता भइरहँदा एलएसीमा सैन्य वार्ता जारी छ । बिहीबार ब्रिगेडियरस्तरमा वार्ता भएको थियो ।

यसअघि दुई चरणमा लेफ्टिनेन्ट जनरल अर्थात कोर कमाण्डर स्तरको केही चरणको वार्ता भइसकेको छ । तर तनाव कम गर्ने विषयमा खास सहमति हुन सकेको छैन ।

भारत र चीन दुवैले एक अर्कामाथि सीमा क्षेत्र पार गरेको र एक अर्कालाई उक्साउने कार्य भइरहेको आरोप लगाएका छन् ।

पछिल्लो समयमा मंगलबारमात्रै सीमा क्षेत्रमा २५ चिनियाँ सेना धारिला हतियारसहित उपस्थित भएको तस्बिर भारतीय पक्षले सार्वजनिक गरेको थियो । स्रोतका अनुसार यो ७ सेम्टेम्बरमा लिइएको तस्बिर हो । यद्यपि यसको पुष्टि हुन बाँकी छ ।

त्यसअघि १५–१६ जुनमा सीमा क्षेत्रमा भएको झडपमा २० जना भारतीय सैनिक मारिएका थिए । सो घटनमा चिनियाँ सेना मारिएको विवरण भने हालसम्म पनि सार्वजनिक भएको छैन ।