बेलायतमा युके–नेपाल व्यापार तथा लगानी मञ्चको गठन गरियो

2 years ago

बेलायतमा युके–नेपाल व्यापार तथा लगानी मञ्चको गठन गरियो

बेलायतको उद्यमी, व्यवसायी र लगानीकर्ताहरुले यही अगस्त ५ र १० का दिन लण्डनमा बसेको बैठकले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ ।

संयुक्त अधिराज्यको हाउस अफ लड्र्सका सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको लण्डनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

मञ्चको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्तबहादुर श्रेष्ठ, भगवानजी चौहान र रवीन्द्रजङ्ग लामिछाने रहेका छन् भने महासचिवमा आतम सन्धु र कोषाध्यक्षमा विकास नेपाल रहेका छन् । मञ्चको संरक्षकमा बेलायतका लागि नेपाली राजदूत डा .दुर्गाबहादुर सुवेदी रहेका छन ।

कार्यक्रमको सोमबार  उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै  राजदूत डा. सुवेदीले आर्थिक विकासका लागि नेपाल सरकारले लगानीमैत्री नीति कार्यान्वयन गरिरहेको भन्दै युके–नेपाल व्यापार तथा लगानी मञ्च बेलायत र नेपालबीच व्यापार, व्यवसाय र लगानीको प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने विश्वास रहेको बताउनु भयो  ।

समारोह मञ्चका नवनिर्वाचित अध्यक्ष तथा बेलायती सांसद लर्ड शेखले मञ्चका माध्यमबाट नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार अभिवृद्धि गर्ने दिशामा सकारात्मक योगदान गरी नेपालको आर्थिक विकासमा सहयोग पुर्याउने प्रतिबद्ध जनाउनु भयो ।