बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था

2 years ago

बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।

पछिल्लो समय कोरोना भाइरसका बिरामीको संङ्क्रमण बढ्दै गएपछि काठमाडौं महानगरले १० वटा निशुल्क एम्वुलेन्स सेवा शुभारम्भ गरेको हो ।
एम्वुलेन्स सेवा सञ्चालन गर्न महानगरले बिहीबार एम्वुलेन्स चालक संघसंग सम्झौता पनि गरेको छ ।

सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पुर्‍याउने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले कोरोना संक्रमणलाई न्युनिकरण र रोकथाम गर्न सरकारले लागू गरेको निषेधाज्ञा पालना गराउन महानगर गम्भीर रहेको बताउनुभयो ।

महानगरले समुदायस्तरमा सचेतना बढाउन शिक्षकहरू परिचालन गर्ने, जोखिमयुक्त स्थानमा निसंक्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र स्थापनाका लागि सहयोग गर्ने उहाँले बताउनुभयो ।