बामदेव गौतमलाई राष्ट्रियसभामा सिफरिस

2 years ago

बामदेव गौतमलाई राष्ट्रियसभामा सिफरिस

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले राष्ट्रियसभामा रिक्त एक मनोनीत सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफरिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा उपाध्यक्ष गौतमलाई सिफरिस गर्ने तयारीमा सरकार रहेको जानकारी गराउनुभएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै युवराज खतिवडाले अर्थमन्त्री पद शनिबारदेखि सकिने भएको छ । खतिवडा संघीय संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार गत फागुन २० गते पुनः अर्थमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

सचिवालय बैठकमा पार्टीभित्रको विवाद समाधानका ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन पेश भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । प्रतिवेदनअनुसार सरकार र पार्टीका अघि बढाउन कार्ययोजना बनाएर अध्यक्षद्वयले बैठकमा पेश गर्ने जिम्मेवारी दिएको र नेकपा महाधिवेशमा केन्द्रित हुने जानकारी उहाँले बताउनुभयो ।

बैठकले बागलुङ जिल्लाको ढोरपाटनमा बाढीबाट हुन गएको क्षतिप्रति दुख व्यक्त गरेको छ । साथै सरकारलाई उद्धार, राहत र पुर्नस्थपनाको कामलाई तीव्रतापूर्वक व्यवस्थितरुपमा अगाडि बढाउन आग्रह गरेको छ । यस्तै पार्टी कमिटीलाई उद्धार र राहतमा जुट्न निर्देशन गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको अवस्था र यसको निराकरणका लागि सरकारले गरेको प्रयासका बारेमा पनि जानकारी गराउनुभएको थियो ।