प्रतिनिधिसभाको बिघटन असंवैधानिक भन्दै त्यसलाई बदर गर्नुपर्ने कानुन व्यवसायिहरुको तर्क

2 years ago

प्रतिनिधिसभाको बिघटन असंवैधानिक भन्दै त्यसलाई बदर गर्नुपर्ने कानुन व्यवसायिहरुको तर्क

कानुन व्यवसायिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट सिफारिस गरे बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बिघटन गर्नुलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले त्यसलाई बदर गर्नुपर्ने तर्क गरेका छन् ।

उनीहरुले अदालतले बिघटित प्रतिनिधिसभालाई पुर्नस्थापित गर्न सक्ने समेत बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेपाल बार एशोशिएसनका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता शेरबहादुर केसिले संसद बिघटनलई २०७२ सालको संविधानको अन्त भएको बताउनु भयो ।

संविधानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद बिघटनको अधिकार नदिएको हुँदाहुँदै पनि बिघटन गरेर देशलाई निरंकुशतातर्फ लगेको उहाँको भनाई रहेको  छ । त्यस्तै नेपाल बार एशोशिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले संविधानले पाँच वर्ष अवधि नपुगी संसद बिघटन गर्न संविधान अनुसार निमल्ने तर्क गर्नुभयो ।

पूर्व महान्याधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनको कदम गैर संवैधानिक रहेको धारणा राख्नुभयो । उहाँले बिघटन भएको संसद पुनःस्थापित हुनसक्ने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको विरुद्ध खतरनाक कदम चालेको तर्क गर्नुभयो । नेपालको राजनीतिलाई अस्थिरता, अन्यौलको दलदलमा फसाउने कदम चालेको भन्दै अब सडकबाट परास्त गर्नुपर्ने उहाँले बताउनुभयो ।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिस गरेर लोकतन्त्रको हत्या गरेको भन्दै राष्ट्रपति भण्डारीले त्यसलाई सदर गरेर मतियार बनेको आरोप लगाउनु भयो ।