नवमीका दिनमा दुर्गाभवानीको पूजा–आराधना गरी मनाइदै

2 years ago

नवमीका दिनमा दुर्गाभवानीको पूजा–आराधना गरी मनाइदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आइतबार दुर्गाभवानीको पूजा–आराधना गरी मनाइएको छ । नवरात्रको नवौँ दिनमा नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्रीको आह्वान गरिन्छ । महानवमीमा गरिने दुर्गापूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने गरिन्छ ।

दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गर्ने गरिन्छ । पशुबलि नदिनेहरुले भने आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिने गर्दछन् ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निसानपूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निसाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण नदिइने भएको छ । घटस्थापनादेखिको नित्य पूजा र बलिको कार्यक्रम भने भइरहेको जनाइएको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।