नेपाली कामदार रोजगार गन्तव्यमा पठाउन श्रम स्वीकृति खुला

2 years ago

नेपाली कामदार रोजगार गन्तव्यमा पठाउन श्रम स्वीकृति खुला

सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायात असोज १ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा  सरकारका प्रवक्ता डा. युवराज खतिवडाले असोज १ गतेसम्म सवारी सञ्चालन नगर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि नचलाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै असोज १ गते सम्मका लागि पनि आन्तरिक हवाइ उडान सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बैठकले नेपाली कामदार रोजगार गन्तव्यमा पठाउन श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । सम्झौता गरिएका मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागिएको नियमित अन्तर्राष्ट्रिय हवाई उडानको संख्या थप्ने निर्णय पनि गरेको छ ।

त्यस्तै  प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा सम्बन्धित क्षेत्रका समानुपातिक सांसद र राष्ट्रियसभा सांसद रहने समितिले कोरोनाबारे भएरगरेका कामबारे अनुगमन गर्न सक्ने निर्णय बैठकले गरेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको खतिवडाले जानकारी दिनुभयो ।

बैठकले  वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा रोकिएको केराउ र मरिचको आयात फुकुवा गरेको छ ।  त्यस्तै सरकारले १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिकलाई चार्टर फ्लाइटबाट नेपाल आउने अनुमति दिएको छ ।