दुई प्रतिशत जनसंख्यालाई कोरोना संक्रमण हुनसक्ने अनुमान

2 years ago

दुई प्रतिशत जनसंख्यालाई कोरोना संक्रमण हुनसक्ने अनुमान

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमणलाई कम गर्न जनप्रतिनिधीहरुको भूमिका महत्वपूर्ण रहेका बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार काठमाडौंमा आयोजना गरेको ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ बिषयक छलफल कार्यक्रममा उहाँले जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नुपर्ने बताउनुभयो ।

त्यस्तै उहाँले कोरोनाको उपचारका लागि खोप कहिले आउने भन्ने यकिन भइनसकेको अवस्थामा कोरोना रोक्न सवैले सचेतना अपनाउनुपर्ने उल्लेख गर्नुभयो । 

तिमिल्सिनाले राजनीतिक भविश्यमाथि समेत बलियो आधार तयार गर्नका लागि राजनीतिक दलहरुले कोरोना नियन्त्रणका लागि भातृसंगठनहरुलाई परिचालन गरी गाउँगाउँमा परिचालन गरि सचेतना कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले घर घरमा स्वास्थ्य सेवा पुराउनका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । कोरोना उपचारका लागि आवश्यक अक्सिजन सहितका बेडहरुको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने लगाएतका काममा सरकार लागिपरेको उहाले बताउनुभयो ।

मन्त्री ढकालले कोरोन संक्रमण रोकथामका लागि सरकारले हरसम्भव प्रयास गरेको दावी पनि गर्नुभयो ।