कृषिमा वैदेशिक लगानी आवश्यक रहेका श्रीराम घिमिरेको भनाई

2 years ago

कृषिमा वैदेशिक लगानी आवश्यक रहेका श्रीराम घिमिरेको भनाई

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले कृषिमा वैदेशिक लगानी आवश्यक रहेको बताउनु भएको छ । 

सर्तसहितको प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि वैदेशिक लगानी आवश्यक हो वा होइन भन्ने चर्चा चलिरहेकै अवस्थामा सरकारको तर्फबाट सो धारणा राख्नु भएको हो ।

एशोसिएशन अफ नेपाली अग्रीकल्चर जर्नालिष्ट्स (अनाज) र राष्ट्रिय कृषक समूह महासङ्घ, नेपालले काठमाडौँमा आयोजना गरेको बहस कार्यक्रममा प्रवक्ता घिमिरेले सम्बन्धित सरोकारवालासँग यथेष्ट बहस र गृहकार्यपछि मात्र वैदेशिक लगानी भित्र्याइने जानकारी दिनुभयो ।

सरकारले डेरी उद्योग, पशुपन्छी, मत्स्य, तथा मौरीपालन, फलफूल, तरकारी र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) खुल्ला गर्ने निर्णय पुष २० गतेको नेपाल राजपत्रमा प्रकाशित गरेको छ । सचिव घिमिरेले मुलुकको आर्थिक क्षेत्रमा एक तिहाइ कृषि क्षेत्रको योगदान रहेको भन्दै राज्यले पर्याप्त बजेट छुट्टाउन नसकेको तर्क गर्नुभयो ।

कार्यक्रममा डेरी उद्योग सङ्घका महासचिव प्रह्लाद दाहाल, राष्ट्रिय किसान आयोगका प्रवक्ता रवीन्द्र केसी, गोल्यान समूहका अध्यक्ष पवन गोल्यान, नेपाल उद्योग वाणिज्य महासङ्घ वस्तुगततर्फका संयोजक अरनिको राजभण्डारीले बहुसख्यक किसानको हितमा हुने गरी वैदेशिक लगानी भित्र्याउनु पर्ने बताएका छन् ।