कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरुमा अनुगमन

2 years ago

कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरुमा अनुगमन

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीका बारेमा अनुगमन गर्न गठित उपसमितिले कोरोना संक्रमितको उपचार गरिरहेका विभिन्न अस्पतालको अनुगमन गरेको छ ।

मंगलबार उपसमितिका संयोजक जीवनराम श्रेष्ठको नेतृत्वको टोलीले काठमाडौंको महाराजगंजस्थित प्रहरी अस्पताल, आर्मीको सैनिक अस्पताल र वीर अस्पतालको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा प्रहरीको अस्पतालमा २ सय ६४ जना कोरोना संक्रमितको उपचार भईरहेको पाइएको उपसमिति संयोजक श्रेष्ठले बताउनुभयो ।

उक्त कोरोना संक्रमितको उपचारका लागि दुई सय बेड थप्न सकिने देखिएकाले छलफल चलाइएको उहाँले बताउनुभयो । त्यस्तै आर्मीको अस्पतालमा सय बेडमा कोरोना संक्रमितको उपचार भइरहेको र आर्मीले अन्य स्थानमा पनि संक्रमितको उपचार गरिरहेको पाइएको तथा उपचार सन्तोषजनक पाइएको छ भने कोरोना संक्रमितको उपचारका लागि तयारी गरिएको वीरको नयाँ भवनको पनि अनुगमन गरिएको उपसमिति संयोजक श्रेष्ठले बताउनुभयो ।

उहाँले विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेड थप गर्नका लागि सरकारका सम्बन्धित मन्त्रालयसंग छलफल गरिने बताउनुभयो ।