केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा सरकारले वितरण गरेको पदक सबैका लागि लज्जाजनक टिप्पणी

2 years ago

केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा सरकारले वितरण गरेको पदक सबैका लागि लज्जाजनक  टिप्पणी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा सरकारले वितरण गरेको पदक सबैका लागि लज्जाजनक भएको टिप्पणी गर्नुभएको छ । 

सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा एमालेले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले यसपटक सरकारले वितरण गरेको पदक सबैका लागि लज्जाजनक भएको भन्दै यसको इतिहासले निर्मम मूल्यांकन गर्ने बताउनुभएको हो ।

उहाँले सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको समेत बताउनुभयो । ओलीले सरकाले छानीछानी आफ्ना मान्छेलाई विभूषण र मानपदवी बाँडेको आरोप लगाउदै मुलुकका लागि योगदान गर्नेको अवमूल्यन गरिएको धारणा पनि राख्नुभयो ।

त्यस्तै ओलीले संविधान कार्यान्वयनका बेलामा पार्टी फुटाउने र त्यसका लागि विभिन्न क्रियाकलाप भएको बताउनुभयो । उहाँले अहिलेको सत्ता गठबन्धनले राष्ट्रपति संस्थाको हुर्मत लिएको तर्क पनि गर्नुभयो ।

संविधान अनुसार बनेका संस्थाहरुको भूमिका निष्पक्ष हुनुपर्ने भन्दै ओलीले सभामुख र निर्वाचन आयोगको भूमिकाप्रति आपत्ती प्रकट गर्नुभयो । ओलीले आफूले ताजा जनादेशमा जान खोज्दा प्रतिगमन भयो भन्नु संविधानको मर्म र भावनाविपरीत भएको टिप्पणी गर्नुभयो । उहाँले आफ्नो सरकारको पालमा प्रतिगामीले पुनः टाउको उठाउन नसकून् भनेर संविधान कार्यान्वयनका लागि सक्रिय प्रयास भएको दावी गर्नुभयो ।

त्यस्तै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेको सरकार ढलाउन र प्रतिनिधि सभा पुनस्थापना लागि भूमिका खेल्नेहरुले पदक पाएको भन्दै विरोध गर्नुभयो । उहाँले प्रतिनिधि सभा विघटनबारे संवैधानिक इजलासमा रहेका न्यायाधीशहरुले पदक पाएको भन्दै पदक अस्वीकार गर्न आग्रह गर्नुभयो ।

संविधानसभाका अध्यक्ष नेम्वाङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका सारभूत पक्षमा हाल कुनै परिवर्तन गर्न आवश्यक नभएको बताउनुभयो । कार्यक्रममा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जनताको लामो बलिदानीपछि संविधान निर्माण भएको भन्दै यसमा रहेका उपलव्धीलाई संस्थागत गर्नुपर्ने धारणा राख्नुभयो ।