कित्ताकाट खुलाएको भन्दै अखिल नेपाल किसान महासंघको आपत्ति

2 years ago

कित्ताकाट खुलाएको भन्दै अखिल नेपाल किसान महासंघको आपत्ति

भूमाफिया र दलाललाई पोस्ने गरी जग्गाको कित्ताकाट फुकुवा गरिएको भन्दै अखिल नेपाल किसान महासंघले  आपत्ति जनाएको छ ।

महासंघका संयोजक हरि पराजुली र सहसंयोजक चित्रबहादुर श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै कित्ताकाट फुकुवाको निर्णयबाट दुःखी र आक्रोशित बनाएको भन्दै कित्ताकट र कृषि भूमिको खण्डिकरण रोक्न माग गरेको छ ।

भूमिसुधार नीति विपरित र किसानविरोधी तथा भूमाफियाको पक्षमा भएको भन्दै महासंघले आपत्ति जनाएको हो।

विज्ञप्तिमा भनिएको छ मुलुकको सबैभन्दा ठूलो किसान संगठन हुनुको नाताले हामी कृषि भूमिको कित्ताकाट र खण्डीकरण तत्काल रोक्न र वैज्ञानिक भूउपयोगसम्बन्धी आवश्यक नियमावली तथा निर्देशिकाहरु यथाशीघ्र जारी गरी वैज्ञानिक भूउपयोग ऐनको अविलम्ब कार्यान्वयन गर्न जोडदार माग गर्दछौँ र नेपाल सरकारलाई यस्ता किसानविरोधी हर्कतहरु नदोहोराउन सजग गराउँदछौँ’,

कृषि भूमिको कित्ताकाट फुकुवा गराउने निर्णयले नेपालको कृषि भूमिलाई खण्डीकरण गर्ने, गैर कृषि क्षेत्रमा उपयोग हुने अवस्था सिर्जना गर्ने, कृषि भूमिलाई व्यापारको वस्तु बनाउने, गरिब किसानहरुलाई आफ्नो जमिन बलजफ्ती सस्तोमा बेच्न बाध्य बनाई भूमाफिया तथा दलालहरुलाई पोस्ने र नेपाललाई खाद्य संकटको दिशातर्फ उन्मुख गराउने कामको महासंघले विरोध गरेको छ ।

भदौ १८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले  जग्गाको कित्ताकाट फुकुवाको निर्णय गरेपनि  भदौ २२ गते सार्वजनिक भएको थियो ।