काठमाडौंका चार प्रयोगशालासंग कोभिड १९ परीक्षणको विषयमा स्पष्टिकरण दिन निर्देशन

2 years ago

काठमाडौंका चार प्रयोगशालासंग कोभिड १९ परीक्षणको विषयमा स्पष्टिकरण दिन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका चार प्रयोगशालासंग कोभिड १९ परीक्षणको विषयमा स्पष्टिकरण माग गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्टार अस्पताल सेन्टर, डाइग्नोष्टिक ल्याबरोटोरी, सूर्य हेल्थ केयर र ह्याम्स अस्पतालसँग २४ घण्टाभित्र स्पष्टिकरण माग गर्न निर्देशन दिएको जानकारी दिनुभयो । 

केहीसमय अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति प्राप्त प्रयोगशालामा कोभिड १९ परीक्षण गरि नेगेटिभ नतिजा भएको रिपोर्ट लिएर नेपाल वायुसेवा निगममार्फत काठमाडौंबाट हङकङ, दुबई, र जापान पुगेका नेपालीहरुको त्यहाँ पुन परीक्षण गर्दा कोरोना पोजेटिभ नतिजा आएको थियो ।

उक्त विषयमा छानवीन गर्न भन्दै सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कात्तिक २८ गते स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो । स्वास्थ्य मन्त्रालयले उक्त घटनाको विषयमा छानवीन गर्न राष्ट्रिय स्वास्थ्य प्रयोगशालाका निर्देशकको संयोजकत्वमा छानवीन समिति गठन गरेको थियो ।

उक्त समितिले तीनवटा प्रयोगशालासँग स्पष्टिकरण माग गर्न निर्देशन दिएको प्रवक्ता गौतमले बताउनु भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को परीक्षण गर्ने सबै प्रयोगशालाहरुलाई कोभिड १९ परीक्षण गर्न लिइएका स्वाबका नमुनाहरु नेगेटिभ रिपोर्ट आएकाहरुको एक महिना र पोजेटिभ रिपोर्ट आएका नमुना तीन महिनासम्म स्टोर गर्नुपर्ने नियम लागु गरेको भएपनि ती प्रयोगशालाहरुले उक्त नियम पालना नगरेको डा गौतमको भनाइ छ ।