कांग्रेस सांसद मोहन पाण्डेद्वारा शपथ ग्रहण

2 years ago

कांग्रेस सांसद मोहन पाण्डेद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

सोमबार संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले पाण्डेलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । पद तथा गोपनियताको शपथपछि सभामुख सापकोटाले सांसद पाण्डेलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । 

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते निधन भएपछि उक्त पद रिक्त थियो । केसी खस आर्य कोटाबाट समानुपातिक सांसद बन्नुभएको थियो । पद तथा गोपनियताको शपथ लिएपछि सांसद पाण्डेले देश र जनताका लागि काम गर्ने बताउनुभयो ।

उहाँले संसदमा प्रतिपक्षिको भूमिकालाई शसक्त बनाउन लागिपर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुकको बिकासका लागि दलहरुबीचको एकता आवश्यक रहेको जिकिर गर्दै अहिले दलहरुलाई कमजोर बनाउने काम भइरहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका पाण्डे पहिलो संविधानसभा सदस्य पनि हुनुहुन्थ्यो । त्यतिबेला उहाँ स्याङ्जा क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो ।