उखु किसानहरुद्धारा आन्दोलन सुरु

2 years ago

उखु किसानहरुद्धारा आन्दोलन सुरु

लामो समयसम्म आफुहरुले पाउनु पर्ने  रकम नपाएको भन्दै उखुकिसानहरुले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् ।

चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीको आयोजनामा चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन सुरु गरिएको छ ।

उनीहरूले गत वर्षको पुस १६ गते सरकारसँग भएको ५ बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । श्रम, पसिनाको मुल्य पाउनुपर्ने, माफियाको गुलियोमा सरकार भुलियो लगायतका प्ले कार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन ।

सरकारले किसानसँग गरेको पटक पटकको बाचा अनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले बताउनु भयो । माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।