आर्थिक क्षेत्रको समस्या समाधानका लागि चार उपसमिति गठन

2 years ago

आर्थिक क्षेत्रको समस्या समाधानका लागि चार उपसमिति गठन

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले राजस्व चुहावट, सार्वजनिक संस्थानको खर्च, बैंक तथा बित्तिय संस्था लगाएतका क्षेत्रको समस्या समाधान गर्न बिभिन्न चार उपसमिति गठन गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले राजस्व चुहावट, राजस्व वक्यौता र राजस्व प्रशासनका समस्या अध्ययन उपसमिति, सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनमा देखिएका समस्या अध्ययन उपसमिति गठन गरेको हो ।

त्यस्तै बैंक तथा बित्तिय संस्थाका समस्या अध्ययन उपसमिति र सार्वजनक संस्थानका समस्या अध्ययन उपसमिति गठन गरिएको समिति सभापति कृष्ण प्रसाद दाहालले जानकारी दिनुभयो ।

उपसमितिमा रहने सदस्यहरु भने पछि तोकिने उहाँले बताउनुभयो । उक्त क्षेत्रमा देखिएको समस्या र समाधानका उपाय पहिल्याउन उपसमितिलाई कार्यदेश दिइएको सभापति दाहालले बताउनुभयो ।

नेपालको वर्तमान राजस्व नीतिको अध्ययन गरि आवश्यक नीतिगत सुधारको सुझाव प्रस्तुत गर्ने, सार्वजनिक खरिद व्यवस्थापनमा देखिएका समस्या पहिचान गरी आवश्यक नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गर्ने, बैंकको निक्षेप र कर्जा लागानीको अवस्था विश्लेषण गरी बैंक र ग्राहकहरुका समस्या समाधानका लागि उपसमितिले सुझाव सिफारिस गर्ने सभापति दाहालले बताउनुभयो ।

त्यस्तै राष्ट्रिय गौरव र ठूला प्रतिनिधिमूलक आयोजनाको छनौटको मापदण्ड, लगानी वा स्रोतको सुश्चितता, व्यवस्थापन, बिभिन्न आयोजनाहरु समयमा नै सम्पन्न गर्न नसक्नुका कारण तथा  जिम्मेवारी पुरा नगर्नेलाई कारवाहीको अवस्था लगाएत बिभिन्न पक्षहरुको अध्ययन गरि सुधारका लागि सुझाव दिन पनि समितिले उपसमितिलाई जिम्मेवारी दिएको छ ।