अमेरिकी र चिनियाँ कूटनीतिज्ञबीच अर्को साता भेटवार्ता तय

2 years ago

अमेरिकी र चिनियाँ कूटनीतिज्ञबीच अर्को साता भेटवार्ता तय

वरिष्ट अमेरिकी तथा चिनियाँ अधिकारीबीच अर्को साता प्रत्यक्ष भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति भएयता पहिलो पटक अमेरिकी र चिनियाँ उच्च पदाधिकारीबीच भेटवार्ता हुन लागेको हो ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीच केही वर्षदेखि तनावपूर्ण सम्बन्ध रहिआएको छ । अझ अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा दुबै मुलुकबीचको सम्बन्ध निकै खराब स्थितिमा पुगेको थियो ।

ह्वाइट हाउस र अमेरिकी विदेश मन्त्रालयले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुल्लिभान र चीनका वरिष्ट कूटनीतिक पदाधिकारी स्टेट काउन्सिलर वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख याङ जेचीबीच अलास्काको एन्कोरेजमा यही १८ मार्चमा भेटघाट गर्ने जनाएका छन् ।

कंग्रेसको बैठकमा बुधबार पहिलो पटक उपस्थित विदेशमन्त्री ब्लिन्केनले सांसदलाई तिब्बत, हङ्कङ र पश्चिम सिनजियाङ क्षेत्रको मानव अधिकार तथा व्यापारका साथै कोरोना भाइरस महामारीका विषयमा दुई देशबीच देखिएका असमझदारीलाई लिएर छलफल गर्ने यो राम्रो अवसर हुने बताए ।

साथै उत्तर कोरिया र यसको आणविक हतियार कार्यक्रमका बारेमा पनि छलफल हुन सक्ने बताइएको छ ।

सांसदले सोधेका प्रश्नको जवाफ दिँदै विदेश मन्त्री ब्लिन्केनले इरान, क्युबा, इथियोपिया, रसिया र भेनेजुएला मामिलामा बाइडेन प्रशासनको दृष्टिकोणका बारेमा पनि जानकारी गराएका थिए ।

उनले यी जल्दाबल्दा अन्तर्राष्ट्रिय तथा अमेरिकी चासोका विषयमा कंग्रेससँग निकट सम्बन्ध र सम्पर्क गर्न बाइडेन प्रशासन सधैँ तत्पर रहने बताए ।

अलास्कामा चिनियाँ अधिकारीसँगको भेटवार्ता अघि विदेशमन्त्री ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले जापानी र दक्षिण कोरियाली समकक्षीसँग टोकियो र सियोलमा भेटवार्ता गर्नेछन् ।

यी भेटवार्तामा अमेरिका र जापान-दक्षिण कोरियाबीचको परम्परागत सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउन अमेरिकाले पहल गर्नेछ ।

राष्ट्रपति बाइडेनले यही साता भारत, जापान र अस्ट्रेलियाका प्रधानमन्त्रीसँग हिन्द–प्रशान्त नीतिका बारेमा पनि भर्चुअल छलफल गर्दै छन् । कंग्रेसको विदेश मामिला समितिमा विदेशमन्त्री ब्लिन्केनले भने, कुरा एकदमै सरल छ । यो अवसरमा हामी हाम्रा चासोका विषयलाई खुला रूपमा उनीहरूसमक्ष राख्नेछौँ ।