४१ अर्ब ४० करोडको बजेट कृषिमा

2 years ago

४१ अर्ब ४० करोडको बजेट कृषिमा

सरकारले कृषि वाली तथा पशुपक्षी बिमाको दायरा थप विस्तार गरि जोखिम न्यूनिकरण गर्न बिमा प्रिमियम अनुदान रकममा बृद्धि गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बाली बिमा गर्दा प्रिमियम बापत कृषकले तिर्नु पर्ने रकम बाली उत्पादन भए पछि तिर्ने सुविधा उपलब्ध गराइने जानकारी दिनुभयो । गत आर्थिक वर्ष बाली तथा पशुपन्छी विमा कार्यक्रम अन्तर्गत लाग्ने बिमा शुल्कको ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरिएको थियो ।

आगामी आर्थिक वर्षमा यसको दायरा थप गरिएको खतिवडाले बताउनुभयो । उहाँले कृषि अनुदान पुनरावलोकन गरी सं‌घ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी दिने व्यवस्था गरेको बताउनुभयो । अर्थमन्त्री डा. युवराज खतिवडाले उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट छुट्याइएको जानकारी दिनुभयो ।

त्यस्तै सरकारले फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख, सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट छुट्याएको छ । अर्थमन्त्री खतिवडाले ३ सय स्थानीय तहमा भूमी बैंक स्थापना गरिने बताउनुभयो ।

भूमी बैंकमा सेयर लगानी गर्न ५० करोड बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । सरकारले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने जनाएको छ ।

यस आयोजनालाई सरकारले आगामी आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै सुनकोशी मरिन सिँचाइ आयोजनाका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।