संसदीय समितिले क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा मिलाउन सरकारलाई निर्देशन

2 years ago

संसदीय समितिले क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा मिलाउन सरकारलाई निर्देशन

संसदीय समितिले विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले विदेशमै बस्न चाहनेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।

बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्याक्ट ट्रेसिङलाई जोड दिन पनि निर्देशन दिएको छ ।

पीसीआर परीक्षण, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, थर्मल गनलगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशीघ्र गर्न पनि समितिले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ भने लकडाउनका कारण अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकको सही तथ्याङ्क संकलन गरी राहतको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

त्यस्तै बैठकले परीक्षणको दायरा तीब्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्थ्य सामग्रीको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

कोरोना महामारीको असर मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न पनि समितिले निर्देशन दिएको समिति सचिव प’ष्पप्रकाश खनालले जानकारी दिनुभयो ।

बैठकमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले  पछिल्लो समय पिसिआर बिधिबाट कोरोना परिक्षण गर्ने कामलाइ तिव्रता दिएको बताउनुभयो ।

उहाले प्रतिदिन तीनहजार पिसिआर जाँच गर्ने लक्ष्यका साथ अघि बढेको जानकारी पनि दिनुभयो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै जिल्ला उत्तिकै जोखिममा रहेका कारण धेरै सावधानी अपनाउन जरुरी रहेको बताउनुभयो ।

हाल देशका नौओटा अस्पतालहरुबाट संक्रमितहरुको उपचार भइरहेको र भारतलगायत विभिन्न पाँच देशबाट संक्रमितहरु नेपाल आएको उहाँले जानकारी दिनुभयो ।

छलफलमा सांसदह?ले पीसीआर परीक्षणको दायरा फराकिलो बनाउन सुझाव दिएका थिए ।