स्वास्थ्य मन्त्रालयले चिन्ता व्यक्त

2 years ago

स्वास्थ्य मन्त्रालयले चिन्ता व्यक्त

काठमाडौं उपत्यकामा कोरोना संक्रमण तिव्र गतिमा बढेपनि बजारमा चहलपहल र भिडभाड  बढेको भन्दै स्वास्थ्य मन्त्रालयले चिन्ता व्यक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमणको अवस्था भयावह हुँदा पनि मानिसहरुको चहलपहल बढेको र कोरोना संक्रमणबाट बच्ने उपायहरु समेत नअपनाएको बताउनु भयो ।

कोरोनाबाट बच्ने उपाय मास्कको प्रयोग, सामाजिक दुरी कायम राख्ने कुरा र साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने विषयमा मानिसहरुले बुझेको भएपनि व्यवहारमा लागु नगरेको डा गौतमको भनाइ छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न दशैं, तिहार लगायतका चाडपर्वहरु घरमै बसेर सामान्य तरिकाले मनाउन आग्रह गर्दै डा गौतमले हरेक व्यक्ति सचेत र सजक नभएसम्म कोरोना संक्रमण कम नहुने पनि बताउनु भयो ।

यस्तै ६० वर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका तथा दीर्घरोगीहरुलाई घर बाहिन ननिस्कन र अन्य व्यक्तिको सम्पर्कमा नआउन पनि डा गौतमको आग्रह छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ का उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुमा कोरोनाको लक्षण देखिए वा पोजेटिभ रिपोर्ट आए मात्र क्वारेन्टिन वा होम आइसोलेनसमा बस्न निर्देशन समेत दिएको छ ।

यस्तै कोभिड १९ को उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधिको प्रयोगमा सहजता ल्याउन औषधि व्यवस्था विभागले यति फार्माकेम डिस्ट्रब्युर्टस प्रालि, काठमाडौंमा रहेको सिनर्जी ओभरसिस प्रालि र भारतमा रहेको हेट्रो ल्याब्स लिमिटेडलाई आयत र विक्रीका लागि अनुमति दिएको भन्दै उक्त कम्पनीबाट  रेम्डेसिभिर औषधि खरिद गर्न सकिने पनि डा गौतमले बताउनु भयो ।