सरकारले छिटोछरितो र प्रभावकारी बनाउन भन्दै ’नागरिक एप’ सार्वजनिक

2 years ago

सरकारले छिटोछरितो र प्रभावकारी बनाउन भन्दै ’नागरिक एप’ सार्वजनिक

सरकारले आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै ’नागरिक एप’ सार्वजनिक गरेको छ । 

शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एप शुभारम्भ गर्नुभएको हो । नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको मन्त्रालयले बताएको छ ।

सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको मन्त्री गुरुङले बताउनुभयो ।

नागरिकले नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने सञ्चार मन्त्रालयले बताएको छ ।

एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने छ भने नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरुको जानकारी लिन सकिनेछ । निकट भविष्यमा एपलाई विस्तृत गर्दै लैजाने मन्त्री गुरुङले बताउनुभयो ।

“लाईन होइन् अनलाईनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप” भन्ने नाराका साथ सुरु गरिएको एपमार्फत् हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक विदाको दिन पनि सेवा लिन  सकिने बताइएको छ ।