शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको विषयलाई पनि ध्यान दिनुपर्ने : डा.अनन्त अधिकारी

2 years ago

शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको विषयलाई पनि ध्यान दिनुपर्ने : डा.अनन्त अधिकारी

मानसिक रोग विशेषज्ञ डाक्टर अनन्त अधिकारीले महामारीको समयमा कोरोना सँगै अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको विषयलाई पनि ध्यान दिनुपर्ने बताउनु भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उहाँले महामारीको समयमा मानिसहरुमा उत्पन्न हुने मनोत्रास तथा मानसिक समस्याबाट बच्न गलत र भ्रामक समाचार तथा सन्देशहरु सुन्न नहुने पनि बताउनु भयो ।

उहाँले मनोपरामर्श तथा औषधि उपचारबाट मानसिक रोग तथा डिप्रेसनको समस्या निको हुने भएकाले मानसिक रोग नलुकाउन पनि आग्रह गर्नुभयो ।

अधिकारीले धेरै शारीरिक रुपमा कुनै समस्या नभएको तर दुईसाता भन्दा बढी समय लगातार विना कारण निराशा, नरमाइलो हुने, सानोतिनो काम गर्दा पनि थकान महशुस हुने समस्या भएका व्यक्तिहरुमा डिप्रेसन भएको हुनसक्ने बताउनु भयो ।

डा.अधिकारीले नेपालमा सेवाको पहुँच अभाव र रोग लुकाउने प्रवृत्तिका कारण  धेरै मनोरोगीहरु उपचार सेवाबाट बञ्चित रहेको उल्लेख गर्नुभयो ।

उहाँले महामारीको समयमा हुने त्रास र मनोसामाजिक असरबाट बच्न महामारीलाई धेरै भयानक रुपमा लिन नहुने र अन्य समयमा संसारमा भएका महामारी जस्तै कोरोना पनि एकदिन टरेर जान्छ भन्ने विश्वास लिनुपर्ने पनि बताउनुभयो ।